समाचार

कहिलेकाहीँ फेसबुक हेरौं न त भन्यो हेर्नै नसकिने, आफैंमाथि खनिएको छ, खनिएको छ : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाबारे आफ्ना अनुभव सुनाएका छन्।

यो गरेन त्यो गरेन भनेर सरकार र नेतालाई जनताले आलोचना गर्नु स्वभाविक भए पनि सोसल मिडियाहरू फेसबुक, ट्वीटरमा आएका नकरात्मक कमेन्टले आफूलाई हैरान पारेको प्रचण्डको भनाइ छ।

‘हिजोआज सोसल मिडिया/डिजिटल मिडिया सबैले चलाउँछन्/हेर्छन्,’ शनिबार काठमाडौंमा दैनिकअनलाइनको उद्घाटन गर्दै प्रचण्डले भने, ‘कतिपय देशमा त फेसबुक चल्दै चल्दैन हामी त्यस्तो नियन्त्रण गर्ने पक्षमा पनि छैनौं। तर कहिलेकाहीँ फेसबुक हेरौं न त भन्यो हेर्नै नसकिने हुन्छ। आफैंमाथि खनिएको छ खनिएको छ।’

उनले आफ्ना फेसबुक वालहरूमा आउने कमेन्टबारे पनि खुलाए। ‘मनमा यो कुरा त ठीकै लेख्यो भन्ने भए त हुन्थ्यो नि!,’ उनले भने, ‘हुँदै नभएको लेखेको छ।’ नेगेटिभ कमेन्टबारे नेताहरू फिल्डमा उत्रिएर जवाफ दिँदा झन् समस्या हुने भएकोले सत्यका पक्षमा हुनेहरूले भ्रम चिर्नुपर्ने उनको भनाइ छ।

हुँदै नभएका कुराहरूलाई चिर्दै सत्यतथ्य सूचना दिएर पत्रकारहरूले नेतालाई न्याय दिन सक्ने उनले बताए। ‘नेताहरू फिल्डमा उत्रेर भनेर पार लाग्नेजस्तो मैले देखिनँ,’ उनले भने, ‘पत्रकारहरूले नेताहरूलाई परेको पीरमर्काबारे सोचिदिने हो कि!’

न्युनतम नैतिक मान्यताबाट तल झरेर सरकार, प्रधानमन्त्री र नेताहरूमाथि कमेन्ट आउने गरेको प्रचण्डको भनाइ छ। ‘भन्ने नभन्ने भनेको छ। मार्नपर्छ, ज्युँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छ भन्नेलाई के गर्ने?,’ उनले थपे, ‘तपाईंहरू (पत्रकार) ले न्याय दिनेतिर विचार गर्नुहोला।’

सुन्नै नसकिने र हेर्नै नसकिने गरी कमेन्टहरू आउने प्रवृत्ति बढेकोमा पनि चिन्ता व्यक्त गरे। झुटबाट पनि नेता पीडित बनेको उनको भनाइ छ। सामाजिक सञ्जाल र अनलाइनहरूमा आउने विषयबस्तुले हैरान पारेको पनि उनले बताए।

‘यति झुटो कुरा कि हामी नेतृत्वमा हुनेहरूले कहिलेकाहीँ हैरान हुनु परेको छ,’ उनले भने, ‘कहिलेकाहीँ त हामीमाथि घोर अन्याय भएको छ। नेताहरूलाई गाली टिप्पणी गर्ने ठाउँ छ तर नेताहरू स्वयमको अवस्था कस्तो छ भनेर पत्रकार साथीहरूले कत्तिको विचार गर्नुभएको छ? नेताको हालत के भएको होला?’

उनले हैरान हुनुपरेको एउटा उदाहरण सम्झिए।

केही दिन अघिको कुरा हो। भारतको परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउनुभएको थियो। हामीले उहाँलाई भेट्ने मै थियौं तर पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुको नाताले मैले या त हामीकहाँ आउँदा सजिलो हुन्छ या बीचमा कहीँ अर्को होटलमा भेटौं भनेको थिएँ। जहाँ बसेको त्यो भन्दा अर्को होटलमा भए सजिलो। त्यो ठाउँ मिलाउन नसकेपछि भेट भएन। तर मिडियामा आयो प्रचण्डले खुसुक्क लुकेर गएर बालुवाटारमा भेट्यो। मैले भेटेकै होइन। भेटेकै होइन भन्न खोजियो कोही सुन्नेवाला छैन। भेट्यो होला भन्नेतिर नै। मान्छेको दिमागमा नेगेटिभ चिजले घर गर्छ।

यति भनेपछि उनले नेताको सम्बन्ध र साइनो नभएका कुरामा पनि थुप्रै आलोचना हुने गरेको बताए। ‘थुप्रै थुप्रै उदाहरण छन् यस्ता। बाढी आएजस्ता छन्,’ उनले भने, ‘न सम्बन्ध न साइनो भएका कुरामा पनि त्यही हो त्यही हो भनेर आउँछ। यसको प्रतिवाद कसले गर्ने त? सत्यको पक्षमा उभिएर इमान्दारितापूर्वक पत्रकारले गर्नुपर्छ।’

प्रचण्डका अनुभवमा हिजोआज टेलिभिजन हेर्ने र पत्रिका पढ्ने घटेका छन्। ‘टिभी हेर्ने मान्छे घटेको देख्छु। मेरो घरमा पनि टिभीतिर ध्यान छैन,’ उनले भने, ‘दैनिक पत्रिका पढ्नेतिर पनि मान्छेको ध्यान छैन। पत्रिका ओरालो लागेको छ लागेको छ। अनलाइनको प्रतिस्पर्धामा ट्वीटरलगायत आएजस्तो छ। तर मुल प्रभाव पार्ने मिडिया अहिले अनलाइन भएको छ।’

देश र समाजमा अहिले अनलाइनले प्रत्यक्ष असर परिरहेको छ त्यसो त यसप्रकारका अनलाइनले कुनै सकारात्मक प्रभाव छन् भने कुनै नकारात्मक रहेको बिश्लेषकहरु बताउन्छन् |हुन त कतिपय देशमा यसको बन्देज पनि गरिएको छ तर नेपालमा त्यो पनि सम्भव नभएको नेताहरु नै बताउन्छन् |

Related Articles

Back to top button
Close