नेपालको मकालु क्षेत्रमा रहस्यमय हिममानवको पाइला भेटियो !

काठमाडौ । नेपालको मकालु हिमालय क्षेत्रमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको छ ।

मकालु हिमालको आधार शिविरमा उक्त पाईला देखिएको र त्यो यति कै भएको भारतीय सेनाले दाबी गरेको छ ।

आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो ।

विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।

भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ ।

फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ ।

भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यति देखिएको थियो ।

यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् ।

धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो ।

वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।

Leave a Reply